डोटी । पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ ।पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएको हो ।
पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिकसहितको सरकारी टोली आएको थियो।
सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण पश्चिम सेती बन्ने विषयमा यहाँका नागरिकमा आशङ्का पैदा भएको छ ।
जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योलता बढेको आदर्श गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायाले बताए।
सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् ।