ललितपुर। ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) शुरुवात गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोकना एक कार्यक्रमका बीच स्वास्थ्य सेवा केन्द्र र थेरापी सेन्टरको उद्घाटन गरेकी हुन्।
वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्ततर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउनेछन् । कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले खोकनाबासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने बताइन् ।
कोभिड सङ्क्रमणको महाबिपत्तीको समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरिन्। मन्त्री भुसालले भनिन्, “तोरीको तेलले चिनीने खोकनामा तोरी पेल्ने मिल, संपदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।” जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सर्हानीय कार्य गरेको बताइन् ।
त्यस अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षय कोषका लागि रु पाँच लाख बराबरको सहयोग पनि ऊर्जामन्त्री भुसालले हस्तान्तरण गरिन् ।कार्यक्रममा वडा अध्यक्ष रविन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।