सुर्खेतमा निर्माण भइरहेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सरकारको बेवास्ताका कारण अलपत्र परेको छ । २०७८ सालबाट निर्माण सुरु गरिएको उक्त केन्द्र निर्माण सुरु गरेको १० वर्षसम्म पनि सम्पन्न नहुँदा अलपत्र परेको हो।
कर्णाली प्रदेशमा रहेका जडिबुटीहरू संकलन गर्ने उद्देश्यले सरकारी निजी साझेदारीका रूपमा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको र उद्योग वाणिज्य महासंघको संयुक्त लगानीमा केन्द्रको निर्माण सुरु गरिएको थियो।
व्यवसायीका अनुसार संकल तथा प्रशोधन केन्द्र समयमै निर्माण सम्पन्न नहुँदा कौडीको भाउमा जडिबुटी बिक्री गर्नुपरेको र यसरी बिक्री गर्दा घाटा सहनुपरेको छ। कर्णालीमा उत्पादन भएको जडिबुटी केही समय भण्डारण गरी प्रशोधन गरेर बिक्री गरौँ भन्ने अवस्था नभएको कारणले गर्दा जडिबुटी व्यापारी मारमा परेका हुन्।
निर्माणको ९० प्रतिशत काम सकिएको र आगामी दुई वर्षभित्रमा केन्द्र सञ्चालनमा ल्याइने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए।
व्यवसायीका अनुसार यार्सागुम्बालगायत महँंगा र औषधिजन्य जडिबुटीको अथाह सम्भावना रहेको कर्णाली प्रदेशबाट वार्षिक ७० हजार टन भन्दा बढी जडिबुटी निर्यात हुने गरेको छ। जडिबुटीलाई समृद्धिको आधारका रूपमा भाषण गर्ने गरेका प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले निर्माणाधीन संकलन तथा प्रशोधन केन्द्रलाई उचित महत्व दिन भने अझै सकेका छैनन्।
कर्णाली प्रदेश जडिबुटीजन्य वस्तुहरूको भण्डारका रूपमा रहेकाले त्यस्ता वस्तुलाई प्रशोधन गरी औषधिजन्य वस्तुको रूपमा उत्पादन तथा बिक्री वितरण गर्नसके प्रदेशकै आर्थिक स्थिति सुधारमा टेवा पुग्ने देखिन्छ। जसले गर्दा यस क्षेत्रको विकासमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दछ।