धादिङ। धादिङको धुनीवेशी नगरपालिकामा सुविधासम्पन्न वृद्धाश्रम निर्माण गरिएको छ। बेसाहार र अपाङ्गता भएका वृद्धा–वृद्धहरुका लागि खान बस्नसहित निःशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने गरी वृद्धाश्रम निर्माण गरिएको हो।
नवनिर्मित वृद्धाश्रमबाट नगरपालिका क्षेत्र भित्र रहेको सम्पूर्ण वृद्ध–वृद्धाहरुको संरक्षण हुनुका साथै स्याहार सुसारमा समेत सहयोग पुग्ने विश्वास रहेको छ ।
धुनीवेशी नगरपालिकास्थित महेश फाँटमा नगरपालिका आफैंले वृद्धाश्रम निर्माण गरेको हो।
आश्रमको घर निर्माणको काम सम्पन्न भइसकेको छ भने अन्य भौतिक संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
आफ्नो स्थानीय तहमा दुःख भोग्दै आएका गरिब, विपन्न, असक्त वृद्धवृद्धाहरुका साथै अपाङ्गता भएका मानिसहरुलाई सुविधा सम्पन्न तरिकाबाट राख्नका लागि स्थानीय तहले आश्रम निर्माण गरेको धुनीवेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।
सम्पूर्ण सुविधारसहित निःशुल्क रुपमा वृद्धावृद्धहरुलाई आश्रममा राखिने छ । आश्रमको क्षमता करिव दुई सय जना राख सक्ने छ । उनीहरुका लागि दैनिक सामान्य स्वास्थ्य जाँच र साप्ताहिक रुपमा सम्पूर्ण शारिरिक अवस्थाको जाँच गरिने व्यवस्था समेत मिलाइने नगर प्रमुखले बताए।
दुई वर्ष अघिदेखि निर्माण सुरु भएको सो आश्रम निर्माणमा हालसम्म दुई करोड साठी लाख खर्च भएको छ ।