काठमाडौं। पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु भएको छ। पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई सहज हुने गरी पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु भएको हो।
पहाडी जिल्लाका सेवाग्रहीलाई सवारी चालक अनुमतिपत्र लिन सहज हुने गरी तानसेनको बाँसटारीमा ट्रायल सेन्टरको निर्माण सुरु गरिएको हो।
लुम्विनी प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको लगानीमा चालक अनुमति परीक्षण केन्द्र (ट्रायल सेन्टर) बनाउन सुरु गरिएको हो। ट्रायल सेन्टर निर्माणका लागि टेण्डर भएर यो वर्ष ५० लाख बजेट विनियोजन भएको छ। सोही स्थानमा ट्रायल सेन्टरसहित यातायात व्यवस्था सेवा कार्यालयको भवन समेत निर्माणका लागि जग्गा व्यवस्थापन सकिएको र डिपीआर बनाउने काम बताइएको छ।
अहिले ट्रायल सेन्टर नहुँदा चालक अनुमतिपत्रको ट्रायलका लागि पाल्पा सहित गुल्मी र अर्घाखाँचीका सेवाग्रही बुटवलमा आउने गरेका छन्। पाल्पामै ट्रायल सेन्टर निर्माण भएपछि चालक अनुमतिपत्र प्राप्त गर्न सहज हुने तानसेन नगरपालिकाले जनाएको छ। चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर बनेपछि यस क्षेत्रमा आर्थिक गतिबिधि बढ्ने र सेवाग्रहीले पनि सहज रुपमा सेवा पाउने नगरपालिकाले विश्वास गरेको छ।
यातायात व्यवस्था सेवा कार्यालय र ट्रायल सेन्टर एकै स्थानबाट सञ्चालन हुने गरी द्रुत गतिमा काम भइरहेको मन्त्रालयले जनाएको छ।