काठमाडौं। क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् सुरु गरेको छ। नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो।
हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालले जनाएको छ। नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो। वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिएको हो।
अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ। अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ। कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुनेछ।