विराटनगर। विराटनगर महानगरपालिका–९ देवकोटा चोकमा प्रदेश सरकारको ३ करोड १० लाख रुयैयाँ लगानीमा स्थापना भएको साढे तीन वर्षपछि प्रदेश १ सरकारको पहिलो संरचनाका रुपमा प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। सो भवनको त्यहाँको मुख्यमन्त्रीले उद्घाटन गरेका छन्।
पहिले जिल्ला समन्वय समितिको पुरानो र साँधुरो सभा हलमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएकोमा हाल आधुनिक फर्निचर र गुणस्तरिय साउण्ड सिस्टम जडान भएको नयाँ भवनमा शुक्रबारदेखि प्रदेश सभाको ९औ हिउँदे अधिवेशनको बैठक सुरु हुने भएको छ।
सभाहल साँधुरो भएको भन्दै सांसदहरुले पटकपटक नयाँ संरचना बनाउन प्रदेशसभा सचिवालय र सरकारलाई दबाब दिएको भएता पनि प्रदेशको राजधानी कहाँ हुने भन्ने अन्यौल कायमै रहेको हुँदा नयाँ सभा भवन निर्माण हुन सकेको थिएन। तर प्रदेशको राजधानी विराटनगर घोषणा भएपछि प्रदेश सभाको नयाँ अस्थायी भवन बनाउन बजेट विनियोजन भएको थियो। बजेट विनियोजन भएपछि अस्थाई सभाहलको निर्माण भएको छ। हाल प्रदेश १ सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालय, निर्देशनालय र कार्यालयहरुका सबै पुराना भवनलाई स्तरोन्नती गरेर सञ्चालन गर्दै आइरहेको छ।