काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा मानव सेवा आश्रमको भवन निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुनमा ‘शहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ नामको भवन निर्माण हुने भएको हो ।
नागार्जुनको सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरमा १८ रोपनी सार्वजनिक जग्गामा भवन निर्माण गर्न लागिएको हो ।
सडक मानव व्यवस्थापन एवम् मानवता प्रवर्द्धनका लागि मानव सेवा आश्रम सञ्चालन प्रयोजनका लागि भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन् ।
आफ्नो घर नभएका र सडक तथा खुल्ला आकाशमुनि जीवनयापन गर्न बाध्य मानिसहरुको उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ६ करोड छुट्याएको छ । थप रकम आवश्यक पर्ने भए सहयोग गर्न तयार रहेको बताइएको छ ।