काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माणाधीन अवस्थामा रहेका तर म्याद सकिएका आयोजनाका लागि म्याद थप गर्न पहल गर्ने भएको छ। हाल निर्माणको अवस्थामा रहेको तथा म्याद थप नभएका निर्माण आयोजनाको सम्बन्धमा महासंघबाट नेपाल सरकारका सम्बन्धित निकायमा पहल गर्ने भएको हो।
विभिन्न समस्याका कारण समयमा काम नसकिएका आयोजनाहरुको म्याद थप गर्न र म्याद थप नभएर भुक्तानि समेत नपाएका आयोजनाको समस्या समाधानका लागि महासंघले पहल गर्ने भएको हो। महासंघले सम्बन्धीत निर्माण कम्पनीलाई म्याद थप गर्नुपर्ने र भुक्तानि पाउन बाँकी आयोजनाहरुको विवरण महासंघमा पेस गर्न अनुराध गरेको छ।
महासंघले देशभरका निर्माण व्यवसायी र उनीहरुका निर्माण आयोजना सहितको विवरण माग वैशाख ८ गतेसम्म बुझाइसक्न अनुरोध गरेको छ।
प्राविधिक, आर्थिक, मुआब्जा वितरण, स्थानीयको अवरोध, कोभिड-१९ लगायतका समस्याबाट समयमा सम्पन्न हुन नसकेका निर्माण आयोजनाहरुको म्याद थप गर्नका लागि महासंघले पहल गर्ने भएको हो।
निर्माण व्यवसायीको लापरबाहीले मात्र नभएर देशभित्रका अन्य विभिन्न समस्याका कारण पनि आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन्। समयमा आयोजना सम्पन्न नहुँदा निर्माण व्यवसायी स्वयमको लागत त बढीरहेकै हुन्छ त्यसमाथि भुक्तानी समेत नपाइ काम गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा निर्माण कार्यमा प्रभाव पर्नुको साथै समयमा काम सम्पन्न नहुने र निर्माण व्यवसायी पनि निरुत्साहित हुन पुग्छन्। त्यसैले यस सम्बन्धमा महासंघको पहल व्यवसायीहरूकाे हितमा देखिन्छ।