काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण सुरु भएको हो।
डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम शुरु भएको मालिका गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको र अब सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको बताइएको छ। सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।
सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको आयोजनाले जनाएको छ। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।
म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो।