काठमाडौं। नेपालगन्जमा निर्माणधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम सुस्त भएको छ। भारतले काममा चासो नदिँदा सो एकिकृत जाँच चौकी निर्माणमा ढिलाई भएको हो।
निर्माणाधीन आइसिपी दुइ वर्षमा सम्पन्न गर्नेगरी नेपाल सरकारसँग सम्झौता भएको थियो। तर, काम सुरु भएको डेढ वर्षमा ३५ प्रतिशत काम सम्पन्न भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ नेपालगञ्जका अनुसार भारत सरकारले निर्माण कम्पनीसँग कात्तिक, २०७७ मा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म थोरै मात्र काम भएको छ।
भारत सरकारको दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ लागतमा भारतकै राजदीप विल्डकन प्रालिले कामको जिम्मा पाएको छ। एक वर्ष पाँच महिना बित्दासमेत कुनै संरचना निर्माण पूरा नभएको बताइएको छ।
भारत सरकारले निर्माण गर्ने भएकाले निर्माण कम्पनीलाई नेपालले धेरै दबाब दिन नमिल्ने बताइएको छ। अहिले सडक, पार्किङ यार्ड, कम्पाउन्ड वाल, माटो पटानको काम भइरहेको छ। पक्की भवन निर्माणका लागि कम्पनीले डिपिसीको काम सकेको बताइएको छ। सय बिघा क्षेत्रफलमा माटो पटान गर्नुपर्ने भएकाले पनि निर्माणको काममा असर परेको छ। कोरोनाका कारण भएको लकडाउनले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ।