काठमाडौं। नेपालको चुरोट बजारमा एकछत्र अधिपत्य बनाएको सूर्य नेपाल प्रालिले करिब ६ अर्ब लगानी गरेर काठमाडौंको बुढानिलकण्ठमा पाँचतारे होटल निर्माण गर्ने भएको छ। सूर्य नेपालले बुढानिलकण्ठमा बनाउन लागेको यो होटलको आर्किटेक्चरल डिजाइनसमेत तयार भइसकेको कम्पनीका सिनियर भाइस प्रेसिडेन्टले बताएका छन्।
कम्पनीले होटल स्थापनाका गर्नको लागि चार वर्षअघि नै प्रक्रिया सुरु गरेको भएता पनि त्यसको लागि लगानी भने विभागबाट हालै स्वीकृत भएको हो। यो होटल नेपालको हस्पिटालिटी क्षेत्रमा नै नयाँ आयाम थप्ने स्तरको हुने बताइएको छ।विभागले यही असोज १० गते सूर्य नेपालको पाँच अर्ब ९९ करोड रुपैयाँ होटलमा लगानीका लागि स्वीकृत गरेको हो। सूर्य नेपाल भारतको आईटीसी लिमिटेडको बहुमत सेयर लगानी भएको कम्पनी पनि हो।
यो कम्पनीले आईटीसी होटल्सको विङ बनाएर विभिन्न प्रिमियम ब्रान्डमा विशेषगरी पाँचतारेस्तरका होटल चेन संचालन गर्दै आएको छ। यस कम्पनीले भारतमा मात्र करिब डेढ दर्जन प्रिमियम होटल तथा रिसोर्ट संचालन गरिरहेको छ।नेपालमा पनि सूर्य नेपालले ल्याउन लागेको होटल आईटीसी होटल्सकै छाताअन्तर्गत भएका कुनै ब्रान्डमा आउने सम्भावना रहेको छ। त्यसैले अहिलेसम्म होटल कुन नाममा आउने भन्ने खुलाइएको छैन।
सूर्य नेपालले होटल स्थापनाका लागि बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र ६ मा ७२ रोपनी जग्गा लिइसकेको छ। सूर्य नेपाल कम्पनीले २०५२ सालमा नै खरिद गरेको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र ६ मा रहेको ७२ रोपनी जग्गामा होटल स्थापना गर्न लागिएको हो।उक्त जग्गाको कम्पाउन्डिङ गर्नका लागि मात्रै १० करोड रुपैयाँ खर्च गरिसकेको छ।हाल होटल निर्माण गर्न लागिएको क्षेत्रफलको बीच नक्सामा बाटो देखिएको र चार आना हाराहारी सार्वजनिक जग्गा पनि अतिरिक्त भएको कारण यसको निकासको विकल्पसमेत सोचिसकेको सूर्य नेपालले यी दुई विषयलाई चाँडै कागजी रुपमा हल गरी होटल निर्माणको काम थाल्ने जनाएको छ।
प्रस्तावित होटलमा एक सय ९० वटा कोठा हुनेछन्। त्यस्तै एकपटकमा चार सय ६५ जनालाई सर्भिस दिनसक्ने क्षमताको रेष्टुरेन्ट पनि निर्माण हुनेछ। उक्त होटलले स्थानीय तथा विदेशी कामदार गरी जम्मा ३०६ जनालाई रोजगारी प्रदान गर्ने बताइएको छ। होटलमा पाँचतारे स्तरको सेवा सुविधा पनि हुनेछ। यस होटलमा स्वमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका आधारभूत सुविधा पनि हुनेछन्।