काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले वैशाख ११ गते आइतबारदेखि ‘निर्माण होलिडे’ गर्ने घोषणा गरेको छ। निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै महासंघले निर्माण होलिडेको घोषणा गरेको हो।
निर्माण सामाग्रीमा मूल्यवृद्धि हुँदा २०६५ सालमा मूल्य समायोजन मार्गदर्शन १ जारी गरेर काम सुचारु गरिएजस्तै अब पनि मूल्य समायोजन मार्गदर्शन २ जारी गरिनुपर्ने महासंघको माग रहँदै आएको छ।
तर आफूहरुले पटक पटक मूल्य समायोजनका विषयमा सरकारको ध्यानाकर्षण गराएपनि हालसम्म कुनै सम्बोधन नभएकाले बाध्य भएर निर्माण होलिडेको घोषणा गर्नुपरेको महासंघले जनाएको छ।
निर्माण सामाग्रीको मूल्यमा भएको वृद्धिको सम्बोधन नभएसम्म र मूल्य सामान्य अवस्थामा नआएसम्म अति जरुरी काम बाहेक कुनै पनि निर्माण कार्य अघि नबढाउने महासंघले जनाएको छ।
त्यसैगरी महासंघले ७७ वटै जिल्लाका निर्माण व्यवसायी संघलाई आफ्नो जिल्ला प्रशासन कार्यालयमा वैशाख १३ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाका दरले धर्ना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन गरेको छ।
महासंघले बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ । व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलन आज पनि जारी रहने महासंघले जनाएको छ।
