काठमाडौं। निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि समायोजन गर्न र बीमा सम्बन्धी जारी गरिएको नयाँ निर्देशीका खारेजको माग गर्दै निर्माण व्यवसायीले आन्दोलन शुरु गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु शुरु गरेको हो।
महासंघले बिहीबार सार्वजनिक खरिद अनुगमन र बीमा समितिमा शान्तिपूर्ण आन्दोलन गरेको थियो। महासंघले आइतबारदेखि देशभरका सम्पूर्ण निर्माण कार्य रोक्ने घोषणा समेत गरेको छ।
महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा ११ बजे शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ। त्यसैगरी दिउँसो १ बजे बीमा समिति कुपण्डोलमा शान्तिपूण धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। आन्दोलन र आफ्ना मागहरुबारे स्पष्ट पार्नका लागि महासंघले दिउँसो ३ बजे महासंघको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ।
बीमा निर्देशीका संशोधन गर्न पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि महासंघ आन्दोलनमा उत्रिएको हो। त्यसैगरी निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि समायोजनका लागि पनि महासंघले पटक पटक सरकारको ध्यानाकर्षण गराएको थियो।
मूल्यवृद्धि समायोजनका लागि २०६५ सालमा मूल्य समायोजन मार्गदर्शन १ जारी गरिए जस्तै अहिले मूल्य समायोजन मार्गदर्शन २ जारी गर्न माग गरिरहेको छ। पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको महासंघले जनाएको छ।
महासंघले देशैभरका सबै जिल्लाका निर्माण व्यवसायी संघहरुलाई प्रत्येक दिन बिहान ११ देखि १२ बजेसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमा गएर धर्ना दिन निर्देशन समेत दिएको छ।