काठमाडौं। कपिलवस्तु जिल्लाको तौलिहवामा आयुर्वेद अस्पताल भवन निर्माण हुने भएको छ। तौलिहवामा १५ शैय्याको आयुर्वेद अस्पताल भवन निर्माण हुने भएको हो।
विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिने बताइएको छ। गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले सो अस्पताल भवन निर्माण गर्न लागिएको हो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई लक्षित गरी नगरपालिकामा नै अस्पताल निर्माण गर्न लागिएको छ। अस्पतालको अभावमा समयमा नै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको दर्दानक घटनालाई अन्त्य गर्ने नगरपालिकाको लक्ष्य रहेको छ।
यसका साथै गरिब र विपन्न वर्गले पनि स्वास्थ्य सुविधा उपभोग गर्न पाउँने गरी स्थानीय स्तरमा नै अस्पताल भवन निर्माणको योजना ल्याइएको नगरपालिकाले जनाएको छ। गाउँमानै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीयको मुहारमा खुसि छाएको छ। जडीबुटीको प्रशोधनबाट पनि उपचार पुर्याउन सकिने विश्वास नगरपालिकाको रहेको छ।
उक्त अस्पताल भवन शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले निर्माण गर्ने भएको छ। सो भवनको जिम्मा शुभ निर्माण प्रालि नयाँबजारले पाएको छ। ११ करोड ४१ लाख १० हजार ३ सय लागतमा उक्त अस्पताल भवन निर्माण हुने भएको हो। तोकिएको समयअवधिमा नै सुविधा सम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ।