काठमाडौं। उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद करिब एक वर्ष थपिने भएको छ। धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएकाले ठेकदार कम्पनीले आगामी धरहरा बनाउने थप म्याद पाउन लागेको हो।
गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो। ११ वैशाख २०७८मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा मात्रै काम सकिंदा धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको थियो।
शहरी विकास तथा भवन निर्माण विभागकाका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ। शहरी विकास विभागका सिनियर डिभिजन इन्जिनियर कोषनाथ अधिकारीका अनुसार धरहराको संग्राहलयबाहेकका संरचनाको निर्माणको काम आगामी दशैं (असोज) सम्म काम सकाउने गरी म्याद थपको तयारी भइरहेको छ।