काठमाडौं। जावलाखेलमा रहेको सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि ‘चिम्पान्जीको घर’ निर्माण गरिएको छ। चिम्पान्जीको लागि सुविधासम्पन्न घर निर्माण गरिएको हो।
शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कँंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरी निर्माण गरिएको सदर चिडियाखानाले जनाएको छ। चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीका बच्चा २०७४ साल असोज ३१ गते अवैध रूपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उद्धार गरी चिडियाखानामा ल्याइएको जनाइएको छ।
चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी तीन महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल चार केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ।
चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रस्टकी राजी राणाले वार्षिक १० लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिएको जानकारी दिइएको छ। १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल १ सय १३ प्रजातिका विभिन्न वन्यजन्तु प्रदर्शनीमा छन्।