कञ्चनपुर। भीमदत्त नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ। नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहयोगमा बजारका लागि आवश्यक संरचना निर्माण गरिरहेको हो।
भीमदत्त नगरपालिकाले एकीकृत कृषि बजारका लागि एक सय ५० सटर निर्माणाधीन अवस्थामा रहेको बताइएको छ। नगरपालिकाले एक सय सटर कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिमकेन्द्र सुन्दरपुरसँगको सहकार्यमा पालिकाको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो ।
भीमदत्त–४ मा खुला मञ्च नजिकै निर्माण भइरहेको एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई योजनाको छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ। ५० सटरका लागि एमडी कस्ट्रक्सनसँग एक करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको छ भने एक सय सटर निर्माणका लागि एमके÷निरज जेभीसँगै तीन करोड ९६ लाखमा निर्माण सम्झौता गरिएको छ। दुवै योजनाको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ। योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य लिइएको छ।
नगरपालिकाले कृषि उत्पादनलाई बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्यलगायतका कामहरू सञ्चालन गरिरहेको छ । बजार निर्माण भएपछि यसबाट नगरपालिकाको आन्तरिक स्रोतमा पनि वृद्धि हुने नगरपालिकाले अपेक्षा लिएको छ।