काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन जिल्लामा खाद्यान्न भण्डार गृह निर्माण गर्न लगानी गर्ने भएको छ। खाद्यान्न भण्डार गृह (वेरहाउस) निर्माण गर्नका लागि बिहीबार बैंक र नेपाल वेयरहाउजिङ्ग कम्पनीबीच सम्झौता भएको हो।
सम्झौता अनुसार सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरिने छ । गृहमा कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको बताइएको छ ।
कृषकहरूबाट उत्पादित खाद्यान्न भण्डारण गर्न तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्दतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, गृहमा राखेको खाद्यान्नको परिमाणअनुसार कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको व्यवस्था समेत गरिदिने छ ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १ अर्ब ३९ करोड छ ।