सुनसरी। प्रदेश नं. १ अन्तर्गत रहेको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यलयले वडा कार्यलयको भवन निर्माण गर्ने भएको छ। उक्त गाउँपालिकामा वडा कार्यलयको भवन अभावमा वडाभित्रको काम गर्न समस्या भइरहेको थियो। त्यहाँका स्थानीय बासीन्दाहरुले वडा कार्यलयको भवन निर्माण गर्नको लागि बारम्बार माग गरेको भएता पनि विभिन्न कारणले गर्दा बाँधा उत्पन्न भई निर्माण कार्य हुन सकेको थिएन। हाल उक्त गाउँपालिकाले वडा कार्यलयको भवन निर्माणको योजनालाई अगाडी बढाएको छ।
जम्मा ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकाले सबै वडामा एकएक वटा वडाकार्यलय निर्माण गर्ने भएको छ। वडा कार्यलय भवनको निर्माण २ वटा निर्माण कम्पनीले गर्ने भएको छ। वडा नं. १, ४ र ५ को वडा कार्यलयको भवन निर्माणको लागि पुष्पाञ्जली/जोया एण्ड ब्र्रोदर्श–जेभी कम्पनीले २ करोड भन्दा बढी लागतमा निर्धारीत समयमा नै काम सक्ने सर्तमा कामको जिम्मा लिएको छ। त्यस्तै वडा नं. २, ३, ६, ७ र ८ को वडा कार्यलयको भवन निर्माणको लागि हिराचन-एम-एचएम/जेभी कम्पनीले ४ करोड भन्दा बढी लागतमा निर्धारित समयमा नै काम सक्ने सर्तमा ठेक्का सम्झौता गरीसकेको छ।
सो गाउँपालिकामा वडा कार्यलयको भवन निर्माण भएपछि निश्चित ठाउँबाट समयमा नै विभिन्न सेवा सुविधा उपभोग गर्न पाउने कुरामा वडावासीहरु विश्वस्त रहेका छन्। वडा कार्यलयको भवन निर्माण हुने कुराले त्यहाँको स्थानीय खुसि पनि भएका छन्। किनभने यो भन्दा अगाडी वडा कार्यलयबाट गर्नुपर्ने काममा धेरै सास्ती झेल्नु परेको थियो।