काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तहको निर्वाचन घोषणापत्रमा एमसीसी सम्झौताको विरोध गरेको छ। नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार जारी गरेको पार्टीको घोषणाापत्रमा एमसीसीको विरोध जनाइएको छ।
घोषणापत्रमा एमसीसीलाई ‘अमेरिकी स्वार्थका लागि भएको लगानी’ भनिएको छ। नेमकिपाको घोषणापत्रमा काठमाडौंको फोहोर व्यवस्थापन ठूलो चुनौती रहेको उल्लेख गर्दै ल्याण्डफिल साइट १५–२० वर्षलाई पुग्ने किसिमको बनाउनुपर्ने, जग्गा अधिग्रहणलगायत कार्य महानगरपालिका आफैंले मात्र गर्न नसक्ने हुँदा संघीय सरकारले समेत सघाउनुपर्ने उल्लेख गरिएको छ।
गत निर्वाचनमा आफ्नो दलका तर्फबाट कालीकोट, जुम्ला, दैलेख र भक्तपुरमा विजयी जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, सिंचाइ, खानेपानी र सडक क्षेत्रमा उदाहरणीय सेवा प्रदान गरेको नेमकिपाको दाबी छ।
घोषणापत्रमा घरघरबाटै इँटा, ढुंगा, सिसा, प्लास्टिक, काँच, फलामका काँटी किला जस्ता सामान ललग गराई पुन प्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्रांगारिक मल बनाउन उत्साहित गर्ने लगायतका योजनाको आवश्यकता औंल्याइएको छ।