ओखलढुंगा । जिल्ला कारागार ओखलढुंगाको भवन पुर्नर्निमाण नहुँदा कैन्दीबन्दी र कर्मचारी सास्ती खेप्न बाध्य छन् । लामो समयदेखि कारागारको संरचना जीर्णोद्धार नहुँदा कैदीबन्दीलाई त समस्या छ नै कार्यालय सञ्चानमा समेत कठिनाई उत्पन्न भएको छ ।
२०४३ सालमा निर्माण भएको कारागारको संरचना त्यसयता मर्मत सम्भार भएको छैन । कार्यालय भवन, सुरक्षाकर्मी तथा कर्मचारी आवास र सुरक्षा वाल समेत जीर्ण बनेपछि अहिले कारागारको सुरक्षामै चुनौती थपिएको छ ।
त्यस बेला २५ जनाका लागि बनाइएको कारागारमा हाल ५ महिलासहित ९७ भन्दा बढी कैदीबन्दी छन् । जीर्ण संरचनामा क्षमता भन्दा ३ गुणा बढी कैदीबन्दी हुँदा खान, बस्न र सुत्न देखि लिएर शौचालयको समेत समस्या छ ।
भएका संचरना पनि पर्याप्त नहुँदा कतिपय सुरक्षाकर्मी पाल टाँगेर बस्ने गरेका छन् । यस विषयमा पटकपटक कुरा उठेको र संरचना निर्माण गरिएको भएपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।