काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समय सापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सोमबार सञ्चार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले यस्तो बताएका हुन्।
उनले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माणको आधार गर्ने बाटोमा सरकार अगाडि बढिरेहको जानकारी दिए।
उनले भने, ‘आइसिटीको क्षेत्रमा भएको विकाससँगै बढेको चुनौतीको सामना गर्न समेत सरकारले नीतिगत व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ, आइसिटीलाई व्यवस्थित गर्नका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ।’
डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री कार्कीले विभिन्न निकायबाट प्रदान गरिएका सार्वजनिक सेवालाई नागरिक एप्समा आबद्ध गर्ने कार्य भइरहेको जानकारी दिए। व्यवस्थित तथा सुरक्षित साइबर स्पेसका लागि साइबर सुरक्षा नीतिको कार्य अगाडि बढाउनुका साथै साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको र संवेदनशील पूर्वाधारलाई २४सै घण्टा निगरानी गर्ने गरी पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको उनको भनाइ छ।