काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको छ।
कतारको राजधानी दोहामा जारी एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि उपाध्यक्षमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर–क्षेत्रीय समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षमा चयन भएको छ।
वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।
गभर्नर्स बिजनेस राउण्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख आधार रहेको बताए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिँदै विकासशील मुलुकको आवश्यकताअनुसार सहुलियतपूर्ण वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने बताए। साथै, स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्त परिचालन गर्नुपर्ने धारणा राखे।