चितवन । जिल्लाको माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा भेटेरिनरी अस्पतालको सेवा शुरु गरिएको हो ।
आयोजनाले भवन हस्तान्तरण गरेपछि अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । आयोजना निर्देशक डा.उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गरेका हुन् । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।
नेपालमा नै पहिलोपटक स्थानिय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले ९० लाखको लागतमा निर्माण गरेको यो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ ।