काठमाडौं। सप्तकोसी सिमेन्ट प्राइभेट लिमिटेडको आम्दानी प्रत्येक वर्ष बढ्दै गएको छ। सप्तकोसी सिमेन्ट उद्योगले सन् २०२१ मा २ अर्ब सञ्चालन आम्दानी गरेको हो।
उद्योगले अघिल्लो वर्ष सन् २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सप्तकोसीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी २०.३३ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बढेको छ ।
सन् २०१९ मा उद्योगले १ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । वित्तीय विवरण हेर्दा कोरोना महामारीमा पनि सप्तकोसीको सिमेन्टको व्यापार उकालो लागेको छ ।
सप्तकोसीले १ अर्ब १२ करोड रुपैयाँ ऋणको केयर नेपाल लिमिटेडबाट रेटिङ गराएको छ । उद्योगले केयरएनपी डबल बी प्लस रेटिङ पाएको छ ।
सन् १९९६ मा मोरङको कटहरीमा स्थापना भएको उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ६ सय टन रहेको छ । उद्योगमा दुइवटा सिमेन्ट प्लान्ट छन् । जसमा एउटाले ५ सय र अर्कोले दैनिक १ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले सन २०१८ देखि व्यावसायिक रुपमा दोस्रो प्लान्टबाट सिमेन्ट उत्पादन थालेको हो । उद्योगले सप्तकोसी र नेसनल ब्राण्डमा ओपीसी र पीसीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।