ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अस्पतालको निर्माण कार्य शुरु भएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने १० शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य शुरु गरिएको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको छ । सम्झौता भएसँगै निर्माणको कार्य शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार भवन निर्माण गर्ने ठाउँको जग्गा सम्याउने काम करिब सम्पन्न भएको छ ।
दश शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शवगृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए। अस्पतालले सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामाङ्खे, खेबाङ, सुरुम्खिमलगायत पूर्व क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ ।
यस अस्पताल भवनसहितका संरचना १५ करोड ८५ लाख बराबरको लागतमा निर्माण हुने छ ।