काठमाडौं। लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लम्जुङमा पर्ने २५ मेगाावटको माथिल्लो दोर्दी ए आयोजनाबाट आगामी जेठ ३१ गतेदेखि विद्युत उत्पादन थालिने भएको छ।
प्रसारण लाइनको काम पूरा नभएकाले गत चैतबाट दै विद्युत उत्पादन थाल्ने भनिएकोमा २ महिना ढिलो गरी विद्युत उत्पादन गरिने भएको हो।
आउँदो जेठ ३१ गतेदेखि बिजुली उत्पादन हुने लिवर्टीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीले २४.६ मेगावाटको बडीगाड र १.५ मेगावाटको लोदोखोला आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा रहेको छ । आयोजना विसं २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढी र कोरोना महामारीले आयोजना पछि धकेलिँदै आएको छ ।
निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने अनुमान छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकोमा योभन्दा बढी हुने बताइएको छ ।