जाजरकोट। जिल्लाको जुनिचाँदे मजकोटस्थित बड्कुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माणकार्यको काम नौ बर्षपुग्दा पनि अझै भवन बन्न सकेको छैन। निर्माण कम्पनीको लापरबाही र सरकारी उदासीनताका कारण हाल सम्मपनि भवन निर्माण हुन नसकेको हो।
स्वास्थ्यकर्मीका अनुसार भवन नबन्दा स्वास्थ्य सेवा प्रवाह र सुरक्षित सुत्केरी सेवा प्रदान गर्न गाह्रो भएको छ। निर्माण कम्पनीले कामको जिम ठेकेदारलाई दिएको भएतापनि ठेकेदारले समयमा काम नगर्दा अझ समस्या थपिएको हो। ठेकेदार कम्पनीले समयमा भवन निर्माणको काम नगरेपछि सुरक्षित प्रसूति सेवालगायत स्वास्थ्य सेवा दिन समस्या भएको जुनिचाँदे गाउँपालीका स्वास्थ्य शाखा संयोजक खेमराज बस्नेतले बताउनु भयो।
भवनमा राखिएका झ्याल, ढोका र पर्खाल जिर्ण अवस्थामा पुगेका छन्। डेढ वर्ष भित्र सम्पन्न हुँने गरी सम्झौता गरिएको भएतापनि अहिले सम्म भवन निर्माणको काम अलपत्र अवस्थामा रहेको छ। सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका अनुसार एक करोड भन्दा माथीको लागतमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अलपत्र बनेको हो।
लामो समयदेखी निर्माण हुन नसकेको बड्कुले स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको छ। निर्माण कम्पनीलाई कालो सुचिमा राख्ने, धरौटी जफटी जफत गरी नौ वर्षसम्म अलपत्र पारेबापतको क्षतिपुर्ति समेत ठेकेदार कम्पनीबाट असुल गर्ने गरी कारबाही प्रक्रीया अघि बढेको कार्यालयका इन्जिनियर टीकाराम पोखरेलले बताउनु भयो।