सुनसरी । जिल्लाको वराहक्षेत्र नगरपालिका–२ मा निर्माणाधीन पन्ध्र शय्याको प्राथमिक अस्पतालको काम गुणस्तरहीन भएको भन्दै वडाध्यक्षले काम रोक्न निर्देशन दिएका छन् । वडाध्यक्ष हरिकृष्ण भट्टराईसहितको टोलीले अनुगमन गर्दै गुणस्तरहीन काम भएको पाइएपछि काममा रोक लगाएको हो ।
ठेक्का केएण्ड केजी जेभीले लिएको ठेक्कामा लापरबाहीपूर्ण काम गरेको भन्दै तत्काल काम रोक्न निर्देशन दिएको हो । वडाध्यक्ष भट्टराईका अनुसार मुख्य जग नै बाङ्गो बनाएको पाइएको छ । त्यस्तै १० इञ्च इँटा भनिएकोमा ९ इञ्चको मात्रै प्रयोग गरिएकाले तत्काल काम रोक्न निर्देशन दिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए।
त्यस्तै निर्माण भइसकेका पर्खाल तथा खम्बामा पनि पानी छिट्ने कामसमेत कम गरिएको पाइएको छ । पानी छिट्ने काममा समेत कञ्जुस्याइँ गरिएको उनले बताए ।
ठेकेदार कम्पनीका प्रमुख कविराज खड्काले जमिनको बनावटका कारण केही स्थानमा बिमको नाप फरक भएको बताए। उनले परीक्षणका लागि इँटा सडक विभाग विराटनगरको प्रयोगशालामा पठाइएको बताए । मजदुरहरूले पर्खाल तथा विममा दैनिक तीनपटक पानी छिट्दै आएको उनको भनाइ छ ।