काठमाडौं। सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माण हुने भएको छ। सो नगरपालिकामा १५ शैय्याको अस्पताल भवन निर्माण हुने भएको हो।
उक्त अस्पताल बनगाड कुपिण्डे नगरपालिका नगर कार्यपालिकाको कार्यालय सल्यानले निर्माण गर्ने भएको छ। सुविधा सम्पन्न अस्पतालको अभावमा अकालमै ज्यान गुमाउनु परेको दर्दानक घटनालाई मध्यनजर गर्दै सो अस्पताल भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ। नगरमा नै सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि अब अकालमा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने विश्वास गरिएको नगरपालिकाले बताएको छ।
अस्पतालको अभावमा लामो समय खर्चेर धाउन पर्ने बाध्यता हट्ने स्थानीयले आशा गरेका छन्। अस्पताल निर्माण हुने भएपछि आफुहरु खुसि भएको सो नगरपालिकाका स्थानीयले बताए। नगरमा नै गुणस्तरीय उपचार पाउने आशमा रहेको उनिहरुको भनाइ रहेको छ।
उक्त अस्पताल निर्माणको जिम्मा ग्राण्ड डिजाईन निर्माण सेवा बाँकेले पाएको छ। उक्त निर्माण कम्पनीले ११ करोड ११ लाख ८६ हजारमा निर्माणको जिम्मा पाएको हो।