काठमाडौं। पोखरा महानगरपालिका–१४ अन्तर्गत छिनेडाँडामा निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सोमबार प्रधानमन्त्री देउवाले विमानस्थलको निरिक्षण गरी सन्तुष्टि व्यक्त गरेका छन्। उनले कोरोनाको समयमा पनि निर्माण भइरहेको हुनाले आफुलाई खुसी लागेको बताएका छन्।
विमानस्थल सञ्चालनमा ल्याउन समस्याको रुपमा रहेको विमानस्थलको दक्षिनतर्फ रहेको रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताएका छन्। हालसम्म सो विमानस्थलको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। पहिलेको सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने निर्माण कार्य कोभिडको कारण समयमा सम्पन्न हुन नसकेकोले गर्दा १ वर्षको म्याद थपेको छ साथै १ वर्षभित्र विमानस्थलको निर्माणको सम्पुर्ण काम सकि सञ्चालनमा ल्याउने योजना रहेको आयोजनाको प्रमुखले जनाएका छन्।
विमानस्थलको ५०० मिटरको धावनमार्ग गत वर्ष नै सम्पन्न भएको थियो भने हाल टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर लगाएतका १४ वटा भवन निर्माण गरी त्यसमा विद्युत जडान साथै साजसज्जाको काम भइरहेको छ। विमाणस्थलको मुख्य प्रवेशद्धारको सडक निर्माण सम्पन्न भउर पनि सडक बत्ती जडान गरिएको छ।
करिब २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। जग्गा अधिग्रहनको काम पनि लगभग ९९ प्रतिशत सकिएको छ। प्रधानमन्त्रीको निरिक्षणको क्रममा रिट्ठेपानी डाँडा कटान, ल्याण्ड फिल साइट र आयल निगम डिपो निर्माण कार्यमा ढिलाई जस्ता विषयहरुमा बुँदागत रुपमा आयोजना प्रमुखले जानकारी गराएका छन्।