फाइल तस्बिर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।
विज्ञप्तिमा मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरिएको छ।
पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न पनि उनले माग गरेका छन्। वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ।
सरकारले आइतबार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रूपैयाँले बढेको छ भने पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १० रूपैयाँले बढेको छ।