काठमाडौं। पाल्पा जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ। रामपुर नगरपालिका–४ व्यास बसपार्कमा वडा नं ४ र ५ का नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिने उद्धेश्यले सोमबार शिलान्यास गरि भवन निर्माण कार्य सुरु गरिएको हो।
जिल्ला समन्वय समितिको रु १५ लाख, रामपुर नगरपालिकाको रु १० लाख र जनसहभागिता रु २ लाख ८८ हजार गरी कुल २७ लाख ८८ हजारको लागतमा भवन निर्माण हुने उपभोक्ता समितिले जनाएको छ। उक्त भवन आगामी असार मसन्त सम्म सम्पन्न गर्ने गरी निर्माणको काम सुरु गरिएको हो।
भवनको अभावमा नागरिकलाई स्वास्थ्य सेवा दिन समस्या भएकोले सहज तरिकाबाट सेवा प्रवाह गर्न उक्त नयाँ भवन निर्माण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ। भवनको अभावका कारण कालीगण्डकी आमासमुहको भवनबाट सेवा प्रवाह भईरहेको थियो। अब नयाँ भवन निर्माण भएपछि नयाँ भवनबाट सहज रुपमा सेवा लिन पाउँने विश्वास गरेको स्थानीयले बताएका छन्।