काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देनले गरिब परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “मेरा कार्यकालमा अतिविपन्न घरबार विहीन एक हजार परिवारले घर पाउनेछन्,” उनले भने। यसका लागि वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ।
यस्तै भद्रपुर नगरपालिकाले दीर्घ रोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताए। यो निर्णयमा उनले हस्ताक्षर पनि गरे। यसअघि दीर्घ रोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भने। यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उनले जनाएका छन्।
यता हल्दीबारी गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत् स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ। अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका छन्। गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षात्को समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउन नदिने उनले बताए।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्न वर्गका जनताको पहिचान गरी निः शुल्क स्वास्थ्य बीमा गर्ने र पाँच वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ। कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताए।
दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ। अबदेखि स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा नगरवासीले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्।
आजको गोरखापत्र दैनिकबाट