नेपालगञ्ज । नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको छ । भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भई २५ नोभेम्बर २०२२ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि आईसीपीको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको हो ।
कोरोनाका कारण नाका ठप्प हुँदा निर्माण सामग्री आयातमा समस्या हुनुका साथै वर्षातको समयमा माटो पटानीलगायतले निर्माणकार्य असहज हुँदा गति लिन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
२ दशमलव २ किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको सडकको ट्रयाक खोलेर हाल १२ मिटर चौडाइको बाटो निर्माणको काम धमाधम भइरहेको छ भने अन्य संरचना निर्माणका काम शुरु भएका छन् ।
जाँच चौकी निर्माण नहुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुने गरेको छ । सबै सेवा एकीकृत रूपमा त्यहाँबाट शुरु हुने भएपछि भन्सार सुधारको अभियानलाई तीव्रता दिन मद्दत पुग्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीको भनाइ छ ।