म्याग्दी। ढिलासुस्तीले अधिकांश विकास योजना थलापरेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्यभन्दा दुई महिनाअगाडी नै छात्रावास भवन निर्माण भएको छ।अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन्। सो निर्माण कम्पनिले अन्नपूर्ण गाउँपालिकासँग २०७७ चैतमा दुईतले १० कोठे छात्रावास भवन निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थिए। लक्ष्यभन्दा दुई महिनाअगाडी नै काम सकेको छन्।
ठेक्का सम्झौतालगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा सुरु भएपछिको बाढीपहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य भन्दा अघि नै भवन निमार्ण भएको छ। एक करोड ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि एक करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। गाउँपालिका, वडा कार्यालय र समुदायस्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए। शिक्षा, विज्ञान, प्रविधि मन्त्रालयको नमूना विद्यालय कार्यक्रमअन्तर्गत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो।
निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी भइरहेको छ। भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने १० कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ। कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ७० लाख रुपैयाँ अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन पनि निर्माण भएको छ। त्यस्तैनमूना विद्यालय कार्यक्रम मार्फत नै ४२ लाख रुपैयाँको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्की पर्खाल र शौचालय निर्माण भइरहेको छ।