कास्की। कास्कीमा अवस्थित रहेको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण धमाधम भइरहेको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण सुरु भएको हो।
पाँच स्थानीय तह रहेको कास्की जिल्लाको माछापुच्छ्रेगाउँपालिकामा मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो। अरु ४ स्थानीय तहमा कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुंगो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन निर्माण गर्न सकेका छैनन्।
सो गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटनमा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख भन्दा बढी लागतमा निर्माण हुँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ। आगामी मंसिरभित्र सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीको योजना रहेको छ।