काठमाडौं। रौतहटको मौलापुर नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाईएको छ। शहीद स्मृति बहुउद्देश्यीय भवन निर्माणमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको हो।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहको नेतृत्वमा गएको अनुगमन टोलीले भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको तथ्य फेला पारेको हो। निर्माण स्थलमा माटो मिसिएको बालुवा, गुणस्तरहीन सिमेन्ट, फोहोर गिट्टी प्रयोग भइरहेको मौलापुर नगरपालिकाले जनाएको छ।
शहरी डिभिजन कार्यालय वीरगञ्जको निगरानीमा निर्माण भइरहेको ती भवनमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको गुनासो आएपछि नगरपालिकाबाट अनुगमन गरिएको नगरपालिकाले बताएको छ। भवन निर्माणमा ठेकेदारलाई गुणस्तरीय सामग्री प्रयोग गर्न र यस्तो गल्ती नदोहोर्याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ।
३२ करोडको लागत इष्टिमेट रहेको उक्त आयोजनाको २०७४ चैत २७ गते एक समारोहबीच पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेका थिए। शिवशक्ति धनञ्जय चौधरी कन्ट्रक्सनले २१ करोड ५७ लाखमा भ्याट बाहेकमा ठेक्का सकार गरी निर्माण शुरु गरेको थियो।
२०७६ चैत २८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले निर्माण सम्पन्न नभएपछि शहरी भवन डिभिजन कार्यालय वीरगञ्जले म्याद थप गरेको थियो।
थपिएको म्याद अनुसार २०७८ मंसिरसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीले बताएको छ। ठेक्का सकार गरेको कम्पनीले अहिले पेटी ठेक्कामा भारतीय ठेकेदारमार्फत भवन निर्माण गराइरहेको स्रोतले जनाएको छ।
थाहाखबर