काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय बीमा नीतिलाई आगामी आर्थिक वर्षको बजेटसँग अनुकूल हुने गरी अन्तिम रुप दिन निर्देशन दिएका छन्। राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझाव सङ्कलन गर्ने उद्देश्यले शनिबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले सरकारले बजेटमा पुँजी बजारसँगै बीमालाई पनि प्राथमिकता दिएकाले राष्ट्रिय बीमा नीतिको मस्यौदालाई पनि सोहीअनुरुप निर्देशित भएर अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिए।
‘आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले राष्ट्रिय बीमा नीति सोहीअनुसार निर्देशित हुनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘देशका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बीमा कम्पनीले नाफा मात्र नहेरी सेवासहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढङ्गे स्वतःस्फूर्तरुपले बीमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिनु होला।’
अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुवैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीब एवम् साना किसानसम्म पुर्याउन निर्देशन दिँदै ठुला टावरका साथै सरकारी र निजीक्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताए।