सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिकामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिएको छ। लालबन्दीको श्री फौदसिंह जनता माविको भवन निर्माण गरी उद्घाटन गरिएको हो।
भवनको मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले उद्घाटन गरेका हुन् ।
विद्यालयको उक्त दुईतले शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको जनाइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने परियोजनाहरू मध्ये एक रहेको जनाइएको छ । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने आशा गरिएको छ ।