काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन्।
सांसद सुवालले सो सम्झौंता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर बताए।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उहाँले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गर्नु गरे।
सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उनको भनाइ थियो।
सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे।
सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहोर्याए।