काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताए। आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताएका हुन्।
उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगत रुपमा पनि आवश्यक सुधार गरिने बताए। उनले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताए।
उनले भने, ‘जहाँसम्म तरलताको कुरा छ । तरलताका कुराहरुमा केही नीतिगत कुराहरुले पनि काम गरेका छन् । यहाँहरुलाई थाहा छ, म अहिले त्यो व्याख्या गर्न चाहान्न । तिनलाई हामी अब आउने माेनेटरि पोलिसीले सुधार गर्नुपर्ने छ। राष्ट्रबैंकको प्रतिनिधि पनि यहाँ हुनुहुन्छ । व्यवसायीहरुले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ। माेनेटरि पोलिसीमार्फत् सुधार गर्न सम्भव भएकाहरु सुधार गरिनेछ । त्यतिमात्रै नभएर अब हामी विभिन्न क्षेत्रको लगानी भित्राउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । त्यो लगानी भित्राउने र हामीसँग भएको पुँजिको परिचालन गर्ने कुराबाट तरलतालाई न्युन गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताए। उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे। मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए।
उनले भने, ‘यो बजेटले रेमिटेन्सको रुपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन। विशेष रुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरु, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन्, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ। उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ। त्यस हुनाले औद्योगिक उत्पादन र कृषि उत्पादन बाट मात्रै होइन, सेवा निर्यातलाई पनि प्राथमिकता दिएका छौँ। सेवा निर्यातको क्षेत्रमा भएका प्रयासहरुलाई प्रोत्साहन गर्ने गरी त्यस सन्दर्भका कर लगायतका विषयहरुलाई समाधान गरेका छौँ । औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सेवा क्षेत्रबाट सेवा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य लिएको छ।’
उनले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कर्मलाई अगाडी बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए।