काठमाडौं। अग्नि सिमेन्टले एक वर्षको अवधिमा एक अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको छ। सन् २०२१ मा ३ प्रतिशतले व्यापार बढ्दा कम्पनीले एक अर्ब ३५ करोड २० लाख रुपैयाँ कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
कम्पनीले २०२० मा एक अर्ब ३० करोड ५० लाख रुपैयाँ र २०१९ मा एक अर्ब ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। २०२१ मा अग्निको बिक्री १७ प्रतिशतले बढेर एक लाख ४५ हजार ४९९ टन पुगेको छ। २०२० मा कम्पनीले एक लाख २४ हजार ४१७ टन सिमेन्ट बिक्री गरेको थियो।
अग्निसँग ग्राइन्डिङ युनिट भएपनि आफ्नै क्लिंकर युनिट भने छैन। अग्निले अन्य सिमेन्ट उत्पादकसँग क्लिंकर खरिद गर्नुपर्ने र स्ल्याग तथा अन्य कच्चा पदार्थ भारतबाट आयाग गरिरहेको छ।
२०२१ मा कम्पनीको खुद बिक्रीको ८७ प्रतिशत हिस्सा कच्चा पदार्थ खरिदमा हुने खर्चले ओगटेको बताइएको छ। अग्निले नेपाली बजारमा चार ब्राण्डका सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।