काठमाडौं। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले शुक्रबार योग्य आवेदकका लागि १० कित्ताको दरले आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेठ २५ गते बुधबारसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।
कम्पनीले बिक्री खुलाएको पाँच दिनसम्म उक्त आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो जसमध्ये १७ लाख ८९ हजार १५७ जनाको आवेदन योग्य थिए । त्यसमध्ये २ हजार ७३८ जनाको आवेदन रद्द गरिएको हो ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीले १० कित्ताको दरले गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई बाँडफाँट गरेको छ । अर्थात १ लाख ३६ हजार ५०० जना योग्य आवेदकले १० कित्ताका दरले हाइड्रोपावरको आईपीओ पाएका छन्। १६ लाख ५२ हजार ६ सय ५७ आवेदकको भने हात खाली नै रह्यो।
कम्पनीले प्रति सेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन ल्याएको थियो । त्यसमा ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।