काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन्।
नगरप्रमुख शाहले अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका हुन्।
उनले भने, ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यवस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं। काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौं।’
मेयर शाहले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको समेत बताए। उनले भने, ‘अहिले पनि काठमाडौं महानगरले ‘ए,’ ‘बी’ र ‘सीु डिभिजन फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौं।’
नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अघि बढाउने बताए।