काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदन दिने समय लम्ब्याइएको छ। कम्पनीको आइपीओमा आवेदन दिने समय आगामी असार १० गतेसम्मलाई थपिएको हो।
प्रभावित क्षेत्रका बासिन्दाका लागि यसअघि असार ७ गतेसम्म आवेदनको मिति तोकिएको थियो। सो अवधिमा पनि पर्याप्त आवेदन नआएका कारण अवधि लम्ब्याइएको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका बासिन्दाका लागि आइपीओ निष्कासन गर्दै छ।
कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्ने भएको हो।
कम्पनीको जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ छ। जसमध्ये ६ करोड १२ लाख ७९ हजार ३ सय ८० रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने जनाएको छ।
प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस्तै, अधिकतम ६ लाख कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।
असार १० गतेसम्म पनि पर्याप्त आवेदन नआए आवेदन अवधि असार २२ सम्मलाई लम्ब्याइने छ। कम्पनीले जेठ २४ गतेदेखि आइपीओ बिक्री खुलाएको थियो। हाल कम्पनीले रुकुम गाड जलविद्युत आयोजना निर्माण गर्ने क्रममा छ। आयोजनाको जडित क्षमता ५ मेगावाट हुनेछ।