सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारमा ऐलानी जमिनमा बनाइएका टहरा भत्काइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट बजार नजिकै ऐलानी जग्गामा बनाइएका ९ वटा टहरा भत्काएको हो।
कार्यालयले बारम्बार टहरा हटाउन आग्रह गर्दा पनि व्यवसायीले वेवास्ता गरेपछि सुरक्षाकर्मीको सहयोगमा टहरा भत्काएको हो।
कपुरकोट बजार नजिकै स्थानीय जागेश्वर गिरीले होटल व्यवसाय गर्ने क्रममा ऐलानी जग्गा ८ वर्ष अघिदेखि अतिक्रमण गरी ८ वटा टहरा बनाएका थिए भने अर्का दिपेश चौधरीले टहरा बनाई ग्यारेज संचालन गरेका थिए ।
गत जेठ ५ गते पत्राचार गरेको र २५ गते सूचना निकाले पनि बेवास्ता गरेपछि संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा ऐलानी जग्गा अतिक्रमण गरी बनाएको टहरा भत्काएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।
राप्ती राजमार्गको नजिकै रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको ऐलानी जग्गा मासिने खतरा बढेकाले टहरा भत्काउनु परेको बताइएको छ। कालिका माविको भवन २०७१ मा अत्यधिक वर्षात्का कारण भत्किएपछि स्थानीयले संरक्षणको नाममा विद्यालयलाई जिम्मा लगाएका थिए ।
विद्यालयले उक्त जग्गा खारेर टहरो बनाई ३ वर्ष विद्यालय संचालन गरेको थियो । विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक संकलन हुने नाममा भाडामा जागेश्वर गिरीलाई होटल व्यवसाय गर्न अनुमति दिएको थियो । गिरीले आर्थिक प्रलोभनमा परेर चौधरीलाई ग्यारेज संचालनका लागि भाडामा दिएका थिए ।