तनहुँ । दमौलीमा नेपालकै नमुना पशुपंक्षीको अस्पताल बन्ने भएको छ । नेपालकै नमुना पशुपंक्षीको अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भएकाले निर्माण कार्य अघि बढेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी वजेट विनियोजन भएको छ । जिल्लाका कृषकको माग अनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको स्विकृत भई बजेट निकासी भएकोले कार्यालय परिसरमा अस्पताल निर्माण गर्ने कार्य अघि बढाएको केन्द्रले जनाएको छ । हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र भएकोले नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेकाले अस्पतालको प्रस्ताव गरिएको थियो ।
पशुपंक्षीको जटिल खालको रोगको उपचार, रोगहरुको बारेमा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न मेडेलको रुपमा अस्पताल बनाउने कार्य अघि बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा।बालकुमार श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको १० करोड रुपियाँको आर्थिक सहयोगमा ७७ जिल्लामै पहिलो पटक दमौलीमा निर्माण गर्न लागिएको केन्द्र प्रमुख डा.श्रेष्ठ बताए । १८ महिनामा नै पूरा गर्ने गरी चितवनस्थित इको बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता समेत भइसकेको छ ।