काठमाडौं। नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय भएको औपचारिक पत्र पत्र पठाएको छ ।
सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको बताएका हुन्।
गृहमन्त्री खाँणले भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो। त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं ।
असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागि नहुने निर्णय गरेको थियो । सोही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागि नहुने निर्णयको जानकारी गराउने निर्णय गरेको खाँणको भनाइ छ।
सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाब भइरहेको बेला सरकारले नेपाली जनताको माग सम्बोधन गरी पत्र पठाएको जनाइएको छ ।